हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रिद्धि सिद्धि सिमेन्ट फ्याक्ट्री जाने बाटो नजिक पूर्व–पश्चिम राजमार्गमा रुख ढल्दा एक भारतीय नागरिक घाइते भएका छन् । आज दिउँसो करिब १२:१५ बजेको समयमा बिरगञ्जबाट हेटौँडातर्फ आइरहेको बीआर ३२ एके १२४१ नम्बरको भारतीय मोटरसाइकलमा अचानक रुख ढलेर लाग्दा मोटरसाइकल चालक भारतको मधुबन–५ निवासी अन्दाजी २० वर्षीय कनैया कुमार घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
रुख सिधै मोटरसाइकलमाथि खसेपछि कुमारको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनापछि केही समय सडक अवरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले १२:४० बजे रुख काटेर बाटो पूर्ण रूपमा सुचारु गरेको छ । घाइते कुमारलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय हेटौडा मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका हुन।






















