हेटौँडा स्कूल अफ म्यानेजमेन्टले शिक्षाशास्त्र संकायमा निशुल्क पढाउने

हेटौंडा टुडे
२०८२ असार १९, बिहीबार १६:३९ गते

हेटौंडा। हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा शिक्षाशास्त्र संकाय अन्तर्गत निशुल्क पठनपाठन सञ्चालन गर्ने भएको छ। शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निशुल्क पठनपाठनको व्यवस्था गर्न लागिएको म्यानेजमेन्टले जनाएको छ। शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यस्तो निर्णय गरिएको हो।  पछिल्लो समय दक्ष शिक्षक अभाव रहेको अवस्थालाई मध्यनजर गर्दै नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा निशुल्क पठनपाठनको व्यवस्था गर्ने निर्णय गरिएको हो।

विद्यालयले आइतबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार, नेपाली, अंग्रेजी र गणित विषयमा कक्षा सञ्चालन गरिनेछ। साथै, अध्ययनसँगै व्यवहारिक शिक्षण अभ्यासको अवसर समेत प्रदान गरिने उल्लेख छ। यस्तो अभ्यासले विद्यार्थीमा शिक्षण क्षेत्रमा आत्मविश्वास र व्यवहारिक दक्षता विकास हुने विद्यालयको विश्वास छ ।

विद्यालयका अनुसार, शिक्षाशास्त्र संकायका लागि सीमित संख्यामा मात्र विद्यार्थी भर्ना लिइनेछ। हेटौंडा स्कूल अफ म्यानेजमेन्टले २०५२ सालदेखि शिक्षा क्षेत्रमा सेवा दिँदै आएको हो । हाल विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, होटल म्यानेजमेन्ट तथा व्युटिसियन संकाय सञ्चालनमा छन्। यस्तै, स्नातक तहमा BIM, BCA र BBS विषयहरूमा पनि अध्यापन हुँदै आएको छ ।

केही वर्षअघि मानविकी र शिक्षाशास्त्र संकायमा विद्यार्थी आकर्षण घटेपछि ती संकायहरू हटाइएको थियो। तर वर्तमानमा शिक्षक अभावलाई सम्बोधन गर्न पुनः शिक्षाशास्त्र संकाय पुनःस्थापना गर्दै निशुल्क पठनपाठनको सुविधा ल्याइएको हो। विद्यालय प्रशासनले इच्छुक विद्यार्थीहरूलाई समयमै फारम भर्न र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*