हेटौंडा । नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि इन्द्रबहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार अविश्वासको प्रस्ताव पारित गर्दै दलको नेताबाट हटाएका लामाले पुनः बुधबार निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्।
मुख्यमन्त्री लामाको प्रस्तावकमा तीर्थ लामा र रामकृष्ण चित्रकार रहनु भएको छ भने समर्थकमा कुन्दन राज काफ्ले र रामकुमार पहाडी रहनुभएको छ। त्यस्तै, बानियाँको प्रस्तावकमा यांकिला शेर्पा र समर्थकमा कृष्णकुमार तामाङ रहनुभएको छ।
निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली बिहान ११ः३० बजे सार्वजनिक गरिनेछ। उम्मेदवारी फिर्ता लिन चाहनेका लागि दिउँसो १२ बजेसम्मको समय तोकिएको छ।
अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ भने मतदान दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ। निर्वाचन समितिले जनाएअनुसार मतदान लगत्तै मतगणना सुरु हुनेछ र सोही दिन नतिजा सार्वजनिक गरिनेछ।
मुख्यमन्त्रीसमेत रहनुभएका बहादुर सिंह लामाले विश्वास गुमाएपछि बागमती काँग्रेसमा दलको नेता चयनका लागि निर्वाचन हुन लागेको हो।
२०७९ सालमा पनि संसदीय दलको नेतामा बहादुर सिंह लामा र इन्द्रबहादुर बानियाँबिचमै प्रतिस्पर्धा भएको थियो । त्यस बेला बहादुर सिंह लामा संसदीय दलको नेता चुनिनु भएको थियो।






















