हेटौंडा । नेपाली महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ भोली साउन १७ गते हेटौंडामा आउने भएकी छिन। ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने नारासहित सञ्चारिका समूह नेपाल, मकवानपुरले आयोजना गर्ने कार्यक्रममा हेटौंडेली खेलप्रेमीहरू साम्बासँग प्रत्यक्ष भेटघाट गर्न पाउने जनाएको छ ।
फुटबलमा ‘गोल मेसिन’ को उपमा पाएकी साम्बालाई ५० हजार रुपैयाँ नगद सहित सम्मान गरिने छ । सम्मान राशिको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरणबहादुर जोशीले गरेका छन् । साबित्राले नेपालका लागि ५० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्दै राष्ट्रिय टोलीलाई दक्षिण एशियाबाहिर चिनाएकी छन् । उनले फ्रान्स, भारत, माल्दिभ्स हुँदै हाल न्युजिल्याण्डको वेलिङ्टन फोनिक्स क्लबमा खेलिरहेकी छिन् । कार्यक्रममार्फत उनको संघर्ष, सफलताको कथा र प्रेरणामूलक यात्रा नजिकबाट बुझ्न सकिने आयोजकले जनाएका छन् ।
जोशीले ‘पहिलो पटक महिला पत्रकारले सहयोग मागेको छ । म सँधै महिलाहरुलाई सम्मान गर्दछु ,’ उनले भने, ‘महिला सशक्तिकरणमा मेरो सँधै साथ रहनेछ ।’ आफुले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग गरेको बताउँदै आगामी दिनमा पनि यस्ताखाले कार्यक्रमको लागि आर्थिक मात्र नभई अन्य तरिकाले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सम्मानका लागि नगद प्रायोजन गर्ने जोशीलाई सञ्चारिका समूह नेपाल, मकवानपुरकी अध्यक्ष निशा गुरुङले संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेकी छन् ।
कार्यक्रमका लागि प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी र प्रेस चौतारी मकवानपुरकी उपाध्यक्ष प्रतिक्षा न्यौपाने सहयोग गरेका छन् ।
यस्तो कार्यक्रमले महिला खेलकुदको सम्मान मात्र नभई महिला सशक्तिकरण र नेतृत्व विकासमा पनि टेवा पुग्ने विश्वास गरीएको छ।






















