प्रेस युनियन द्वारा महासंघलाई फ्यान र सञ्चारिकालाई कुर्सी हस्तान्तरण

हेटौंडा टुडे
२०८२ भाद्र २, सोमबार १४:५५ गते

हेटौंडा । नेपाल प्रेस युनियन जिल्ला शाखा मकवानपुरले सदस्यता विशेष अभियान सुरु गरेको छ । सोमाबर हेटौंडामा एकसय दिने सदस्यता विशेष अभियान सुरु गर्दै युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई ४ थान पंखा (फ्यान) र सञ्चारिका समूह नेपाल मकवानपुरलाई १० थान कुर्सी हस्तान्तरण गरेको छ ।

युनियनले एक सय दिने सदस्य विशेष अभियानको शुभारम्भसँगै सोमबार हेटौंडामा आयोजित कार्यक्रममा सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष कपिल खड्काको संयोजकत्वमा भएको हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेका थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै युनियन मकवानपुरका अध्यक्ष सुबास बिडारीले पत्रकारिता क्षेत्रका संघ–संस्था र संगठनलाई सहयोग तथा प्रोत्साहन दिने कार्यलाई युनियनले सधैं प्राथमिकतामा राख्दै आएको बताए । ‘यसले सञ्चारकर्मीबीच आपसी सद्भाव र सहकार्य अझ मजबुत हुने विश्वास हामीले गरेका छौं,’ उनले भने ।

यसैगरी पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले सरकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने कार्य गरिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यस विषयमा सशक्त रूपमा आवाज उठाउनुपर्ने उहाँले बताउनुभयो । पेशागत मर्यादालाई जोगाउन मर्यादित पत्रकारिता आजको आवश्यकता रहेकोमा उहाँको जोड थियो । पेशागत हकहित र सुरक्षाका विषयमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष अधिकारीले नेपालको संविधानले समेत पूर्ण प्रेस स्वतन्त्रता प्रदान गरेको स्मरण गराउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल, पूर्व केन्द्रीय सदस्य गिरिजा अधिकारी, प्रदेश सदस्य गंगाप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, संस्थापक प्रदेश अध्यक्ष तथा वरिष्ठ पत्रकार प्रताप विष्ट, प्रदेश उपाध्यक्ष हरि हुमागाईं, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, अग्रज पत्रकार रामकुमार एलन, सञ्चारिक समूह नेपाल बागमती प्रदेश महासचिव नानीमैया सापकोटा र मकवानपुर अध्यक्ष निशा गुरुङ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*