हेटौंडा । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडका कारण क्षति पुगेको मकवानपुर जिल्ला अदालत डेढ महिना पछि पूर्ण रूपमा सञ्चालनमा आएको छ ।यसअघि आंशिक रूपमा कार्यसम्पादन र सेवा दिँदै आएको मकवानपुर जिल्ला अदालतले आजबाट सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको हो ।
जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार केशवराज कौशिकले अदालतका डाटाहरु सबै रिकभरभएको पूर्ववत् सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । उहाँले यसअघि आंशिक रुपमा सेवा प्रवाह हुँदै आएकोमा अब मुद्दा व्यवस्थापन प्रणालीबाट पेशी प्रकाशन र सुनुवाइ हुने बताउनुभयको छ।
बुधबार जिल्ला अदालत मकवानपुरका न्यायाधीशहरू क्रमशः गीता श्रेष्ठ, शकुन्तला कार्की, निर्मला शर्मा र पूर्णिमा कोइरालासहितको पूर्ण बैठकले मुद्दा तथा पेशी व्यवस्थापन, मुद्दा दर्तासहित यसअघि सञ्चालन भइरहेका तारेख दिने, बयान लिने, मुद्दा दर्ता, मुद्दा फिर्ता, मिलापत्र, प्रतिउत्तर दर्ता, प्यारोल निवेदन, रोक्का तथा फुकुवासम्बन्धी निवेदनहरू लगायतका सबै सेवा सुचारु गर्ने निर्णय गरेको जिल्ला अदालतका श्र्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।
उनका अनुसार, जेनजी आन्दोलनपछि डेढ महिनादेखि अदालतमा रोकिएका र ‘म्यानुअली’ मात्र हुँदै आएका सबै काम बिहीबारदेखि सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) बाटै नियमित हुनेछ । गत भदौ २३ र २४ गतेको जेन जी प्रदर्शन ले आगजनीमा परेर सर्वोच्च अदालतको एकीकृत कार्य प्रणाली (सर्भर) नष्ट भएको थियो ।
अदालतका फर्निचरलगायतका उपकरणहरु प्रदर्शनीका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि तत्काल काम चलाउका लागि जिल्लास्थित स्थानीय तहलगायतले फर्निचर र कम्प्युटरलगायतका उपकरण उपलब्ध गराएका थिए ।






















