हेटौंडा । हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोक नजिकै एक यात्रुबाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले अन्दाजी ३०–३२ वर्षका पुरुष पैदल यात्रीलाई ठक्कर दिएको थियो। उक्त दुर्घटना शनिबार राति करिब ११ः०० बजे पूर्व–पश्चिम राजमार्गको माष्टरचोक नजिक भएको हो। घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागि हेटौडा अस्पताल पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस चालक महोत्तरी रामगोपालपुर नगरपालिका–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बस र चालक दुबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका यात्रुहरूलाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।






















