हेटौंडा । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कारागारबाट छुटेकै दिन पतिले आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेका छन्। मोदी–६ दराकका ५१ वर्षीय जीत बहादुर विकले गए राति ५२ वर्षीया श्रीमती सीता विकलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।
कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गए राति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक सीताको टाउको र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।
अभियुक्त जीतबहादुर वैवाहिक जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गरी सोमबार नै श्रीमतीले धरौटी तिरेपछि छुटेका थिए। प्रहरीका अनुसार, घर पुगेकै दिन साँझ खाना खाइसके पछि उनले श्रीमती माथि जाइलागेका थिए।
कुटपिटको घटनापछि घरमै रहेकी सीताकी बुहारी शोभा विकले प्रहरी चौकी देउपुरमा खबर गरेकी थिइन्। देउपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले घटनास्थल पुगेर स्थानीयले नियन्त्रणमा लिएर थुनेर राखेका अभियुक्त जीतबहादुरलाई पक्राउ गरेको प्रहरी जानकारीले दिएका छन।






















