हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रभित्र पर्ने राजमार्ग विस्तारबाट प्रभावित नगरवासीलाई लक्षित गर्दै ९ बुँदे निर्णय गरेको छ । आइतबार बसेको उपमहानगरको ७६औं कार्यपालिका बैठकले
विस्थापित व्यवसायीदेखि घरधनीसम्मलाई समेटेर विभिन्न ९ वटा बुँदामा निर्णय गरेको छ।
बैठकले सहुलियतपूर्ण ऋण सहज उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकलाई अनुरोध गर्ने, व्यवसाय बन्द भएका व्यापारीलाई लगत संकलन गरी व्यवसाय सुरु नहुँदासम्म कर छुट प्रस्ताव गर्ने निर्णय गरेको हो ।
उपमहानगरले सडक विस्तारका क्रममा घर भत्किएका घरधनीहरूलाई पुनः घर निर्माण गर्न लाग्ने खर्च व्यवस्थापनका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्ने भएको छ। यसका लागि अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय भएको छ।
त्यस्तै, सडक विस्तारका कारण विस्थापित भई व्यवसाय सञ्चालन गर्न नसकेका व्यवसायीहरूको लगत सङ्कलन गरी उनीहरूले पुनः व्यवसाय सुरु नगरेसम्मका लागि व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेस गरिने भएको छ।
प्रभावित क्षेत्रमा ‘हेटौंडा पहिचान’ झल्किने नमूना घर मोडल कार्यान्वयन, फास्ट-ट्र्याकमार्फत नक्सापास सेवा, २०२० वर्गफिटसम्म नक्सापास दस्तुर छुट र निर्माण सामग्री आपूर्तिमा सहजीकरण पनि निर्णयमा समावेश छ। त्रिभुवन राजपथलाई पर्यटकीय राजमार्गका रूपमा घोषणा गर्न संघीय सरकारलाई अनुरोध गर्ने प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेको उपमहानगरपालिकाले सडक विस्तारमा सहयोग गर्ने सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरेको छ।























