हेटौंडा । हेटौंडा बजार क्षेत्रमा भत्कीएका घर बनाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरको कार्यालयमा आज दिउसो पीडित घरधनी र व्यावसायीहरुले घेराउ गरेका छन् । हेटौंडा बजार क्षेत्रका ५ सय भन्दा बढि घर भत्काएर अदालतको आदेश अनुसार सडक विस्तार कार्य स्थगित गरिएको भन्दै पीडितहरुले आज दिउसो जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेका हुन् ।
सर्वोच्च अदालतले मंसिर १९ गते दिएको आदेश वेवास्ता गरेर मंसिर २० गते बिहानैको झिसमिसेमा नै हेटौंडाका राजमार्गको सिमानामा परेका घरहरु भत्काइसकेपछी त्यही आदेशलाई कार्यान्वयन गरिएको भन्दै हिजोबाट सडक डिभिजन कार्यालय हेटौंडाले सडक विस्तार कार्य स्थगित गरेको थियो। पहिले अदालतको आदेश पालना नगर्ने र घरहरु भत्काइसकेपछी अदालतको आदेशको कार्यान्वयन गर्ने भन्दै पीडित घरधनी र व्यावसायीहरुले भत्काइएका घरहरु बनाइदिन दवाव दिदै जिल्ला प्रशासन कार्यालयमा घेराउ गरेका हुन् ।
उनीहरुले हेटौंडा बजारमा नारा जुलुस गर्दै अदालतको आदेश आउँदा आउँदै पनि घरहरु भत्काइएको भन्दै आक्रोश पोखेका थिए ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको रातमाटे देखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोक देखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले यही मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको समय सीमाभित्र घर धनीले त्यस्तो भौतिक संरचना नहटाएको भन्दै सडक डिभिजन कार्यालयले शनिबार रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्मका सडक सीमाक्षेत्रमा पर्ने करिब ५०० भन्दा बढी घर तथा भौतिक संरचना डोजर प्रयोग गरी भत्काएको थियो ।
सडक डिभिजनले शनिबार एकैदिन करिब ५०० वटा घर भत्काएकाे थियो । भत्काइएकाे घरबाट सामन निकाल्न दुई दिनकाे समय दिइएकाे थियो । त्यसपछि उक्त कार्य सर्वाेच्च अदालतकाे उत्प्रेषण आदेशका कारण स्थगित गरिएकाे सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिएका हुन।






















