हेटौँडा । हेटौँडा बजारको मुख्य सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालयले भत्काएका संरचनाका कारण बजार क्षेत्रमा सुरक्षा जोखिम बढेको छ । सडक सीमाभित्र परेका घर–टहरा भत्किँदा बनेका भग्नावशेष, आधा झरेका भवनका भाग, असरल्ल झुन्डिएका तार तथा फुटपाथमै थुप्रिएका सामग्रीले आवतजावत निकै जटिल बनेको छ।
शनिबार सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायरा मिलाएर २५-२५ गज सडक चौडाइ कायम गर्ने भन्दै ५ सयभन्दा धेरै संरचना भत्काएको थियो । सुरक्षाकर्मी परिचालन गरेर एकैदिन राप्ती रोड, मेनरोड, बुद्धचोक, रातोमाटे र पिपलबोट क्षेत्रसम्मका संरचनाहरु भत्काइएको थियो । तर त्यसको भोलिपल्टै, शुक्रबार सर्वाेच्च अदालतले जारी गरेको आदेश आइतबार मात्रै कार्यालयमा पुगेपछि सडक विस्तारको सम्पूर्ण काम स्थगित भएको छ। हेटौंडा बजार क्षेत्र अस्तव्यस्त भएको छ।
फुटपाथमा नै ढलेका विद्युत् पोल, झुन्डिएका बिजुली तथा इन्टरनेटका तार, सडकमा छरिएका असरल्ल तार, सडक किनारमा ढलेका अशोकका रुख र थुप्रिएका इँटा–रड तथा ढलानका टुक्राका कारण पैदलयात्रुहरू मुख्य सडकमै हिँड्न बाध्य भएका छन् ।
सडकमा इँटा, ढुंगा, भंगार, विस्थापित सटरका टुक्रा तथा फोहोर थुप्रिँदा हेटौंडा बजार जोखिमपूर्ण र अस्तव्यस्त बनेको छ । भत्किएका सटरमुनि व्यापारीहरूले जुत्ता, लत्ताकपडा, तरकारीदेखि ब्यागसम्मका सामान सडक छेउमै फिँजाएर बेचिरहेका छन् । जसले दुर्घटनाको सम्भावनालाई झनै बढाउने अवस्था देखिन्छ ।
मूल्य घटाएर बेच्न बाध्य व्यवसायीहरू ‘व्यापार नबिग्रियोस्’ र ‘लगानी डुब्दैन’ भन्ने भयले जोखिम मोलेर बसेका छन् ।
त्यसैगरी डोजर परिचालनका क्रममा कमजोर बनेका ती संरचना जुनसुकै बेला ढल्न सक्ने जोखिम रहेको छ । घरको अगाडिको भाग मात्र भत्काइएकाले बाँकी संरचना कमजोर बनेको अवस्थमा रहेको छ ।






















