राक्सिराङमा नारी सीपको सार्वजनिक सुनुवाइ तथा सरोकारवाला सँग समन्वय बैठक सम्पन्न

हेटौंडा टुडे
२०८२ पुष १, मंगलवार ११:१८ गते

हेटौंडा । राक्सिराङ गाउँपालिकामा नारी सीपको सार्वजनिक सुनुवाइ तथा सरोकारवाला सँग समन्वय बैठक सम्पन्न भएको छ । सोमबार मकवानपुरमा सुरक्षित स्थानागमन प्रवर्द्धन परियोजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नारी सीप सिर्जना केन्द्र नेपालको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नारी सीप सिर्जना केन्द्र नेपालले गाउँपालिकाका सातवटा वडामा सञ्चालन गरिरहेको सचेतनामूलक तथा जीविकोपार्जनसम्बन्धी कार्यक्रमबारे जानकारी गराइएको थियो। परियोजना संयोजक ज्योति बम्जनले परियोजनाअन्तर्गत सम्पन्न विभिन्न कार्यक्रम, तालिम तथा सिँचाइ आयोजनाबारे जानकारी दिँदै लागत, प्रभावकारिता तथा लाभान्वित समुदायको जीवनस्तरमा आएको सुधारका विषयमा चर्चा गरिन्।

नारी सीपका कार्यकारी निर्देशक प्रवीण बास्तोलाले परियोजनामार्फत सञ्चालन गरिएका कार्यक्रमहरू समुदायको माग र आवश्यकताका आधारमा तय गरिएको बताउँदै कार्यक्रमको सहजीकरण गरे। कार्यक्रममा सहभागीहरूले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा गाउँपालिकाको भूमिका र कार्ययोजनाबारे जिज्ञासा राखे। उनीहरूले परियोजनाअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिन आग्रहसमेत गरे।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले परियोजनाले गाउँपालिकाको चौतर्फी विकासमा इँटा थप्ने काम गरेको बताए। उनले परियोजनाका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। सुरक्षित वैदेशिक रोजगार तथा मानव बेचबिखन नियन्त्रणका सवालमा परियोजनाले दिएको मार्गदर्शनअनुसार गाउँपालिका गम्भीर रहेको उनको भनाइ छ। परियोजनाकै मर्मअनुसार सेफ हाउस निर्माण तथा सञ्चालन, वैदेशिक रोजगारमा समस्यामा परेकाको उद्धार तथा समाजमा आत्मनिर्भर बनाउन आवश्यक तालिम र सामग्री प्रदान गर्ने काम भइरहेको उनले बताए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ र वडाध्यक्ष उत्तम वाइबासले पनि परियोजनाले गाउँपालिकामा पुर्‍याएको सहयोगको प्रशंसा गरे। नारी सीप सिर्जना केन्द्र नेपालकी अध्यक्ष नानीमाया चापागाईंले हाल सञ्चालनमा रहेको परियोजनाको समयावधि सकिन लागेको बताउँदै राक्सिराङको माग र आवश्यकताअनुसार थप कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना रहेको बताइन्।

उनले जनप्रतिनिधि, स्थानीय तथा सरोकारवालाको सहकार्यमा परियोजना सफलतापूर्वक सञ्चालन भएको उल्लेख गरिन्।

नारी सीप सिर्जना केन्द्र नेपालले एडब्लुओ इन्टरनेशनल र बीएमजेडको सहकार्यमा मकवानपुरमा सुरक्षित स्थानागमन प्रवर्द्धन परियोजना सञ्चालन गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*