हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ प्रगति चोक स्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा सात जना घाइते भएका छन्।
आज बिहान करिब ९ः४५ बजे हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको ईभी गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। सोही क्रममा ईभी गाडीले फेरि विपरीत दिशाबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा ईभी गाडी, स्कुटर र स्कार्पियो पिकअप गरी तीनवटै सवारी साधनमा क्षति पुगेको छ। त्यसैगरी घाइते भने सबैको अवस्था सामान्य रहेको छ। इभी चालक रौतहट घर भएका २५ बर्षिय सुमन लामा दुर्घटनापछि घटनास्थलबाट फरार भएका छन्।
ईभीमा सवार मकवानपुरगढी गाउँपालिका–५ भालुखोलाका ७८ वर्षीय टिका प्रसाद तिमिल्सिनाको निधारमा चोट लागेको छ। स्कुटर चालक हेटौंडा–९ का ३९ वर्षीय दीपक रुम्बा दाहिने खुट्टामा चोट लागेर घाइते भएका छन् भने स्कुटरको पछाडि सवार उनकी ५ वर्षीया छोरी ग्रेसी रुम्बाको टाउकोमा चोट लागेको छ।
यस्तै, दुर्घटनापछि पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक प्रकाश केसीको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलमा खटिएको थियो। हाल तीनवटै सवारी साधन इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ। त्यसैगरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






















