हेटौंडा । जाडोयाम सुरु हुना साथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ ।
जस्तो कि, दिनरात सासफेर्दा करिव सवा गिलास पानी खर्च हुन्छ । पसिना र मुत्रको रुपमा शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्नमा पनि पानीको महत्वपूर्ण मात्रा खर्च हुन्छ ।
त्यसैले बारम्बार पानी पियरमात्रै हामी उपयोगमा आइसकेको जलको क्षतिपूर्ती गर्न सक्छौं ।
शरीरमा पानीको मात्रा भएर जाडोमा मानिसहरुलाई कब्जियतको समस्या, ग्याँस वा अन्य समस्याहरुले सताउन पनि सक्छ । त्यसैले यस्ता समस्याबाट बच्न खानपानमा ध्यान दिनुपर्छ ।
मानव शरीर जति कम बोसोयुक्त हुन्छ मांसपेसीमा जलधारण गर्ने क्षमता त्यति नै धेरै हुन्छ । यसैले मोटा मानिसहरुको तुलनामा पातला मानिसहरुको शरीरमा धेरै जल पाइन्छ ।
शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा डिहाइड्रेसनको खतरा बढ्छ । त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा किड्नी जस्ता अंगको कार्यसम्पादन ठिक गर्नको बारम्बार पानी पिउन जरुरी छ ।
शुद्ध खानेपानीको कमीको कारण हामीलाई विभिन्न रोग लाग्न सक्छ । जाडोयाममा प्यास कम लाग्ने कारण हामी कम पानी पिउँछौं । शरीरमा पानीको कमी स्वास्थ्यको लागि खतरनाक हुन्छ ।
त्यसैले हामीले जाडो याममा पनि कम्तीमा २–३ लिटर पानी वा तरल पदार्थ जस्तै कागती पानी, नरिवल पानी, ग्रिन टी लस्सी आदि पिउनुपर्छ ।
पानी पिउने सही तरिका
हरेक व्यक्तिले जाडो र गर्मी दुवै मौसममा दिनमा साढे २ देखि ३ लिटर पानी पिउनुपर्ने डा अग्रवाल सल्लाह दिन्छिन्। उनका अनुसार यदि २५० मिलिलिटरको एक गिलास मानेर हिसाब गर्ने हो भने, दिनमा करिब १०–१२ गिलास पानी पिउनु उपयुक्त हुन्छ।
पानी पिउने सही तरिकाबारे उनी बुँदागत रुपमा प्रस्तुत गर्छिन् :
जाडोयाममा बिहान उठेपछि पहिलो २–३ घण्टाभित्र बिस्तारै २–४ गिलास पानी पिउनुहोस्।
दिनभर आवश्यक पर्ने पानीको मात्रा बेलुका ५ बजेसम्म पूरा गर्ने प्रयास गर्नुहोस्, जसले सुत्ने चक्र (स्लीप साइकल) बिग्रन दिँदैन।
बेलुका धेरै पानी पिउँदा राति मिर्गौलाको फिल्ट्रेसन प्रक्रिया बढ्छ, जसका कारण बारम्बार पिसाब लाग्छ र निद्रा अवरुद्ध हुन्छ।






















