नागरिकता नियमावलीमा चौथो संशोधन: अब बाबुको पहिचान नभएकालाई नागरिकता लिन सहज

हेटौंडा टुडे
२०८२ पुष २२, मंगलवार १४:२८ गते

हेटौंडा । सरकारले ‘नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२’ जारी गर्दै नागरिकता प्राप्ति र नाबालक परिचयपत्र वितरणको प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको छ। गृह मन्त्रालयले पुस २१ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गरेसँगै यो संशोधित नियमावली तत्काल लागू भएको हो ।

नयाँ व्यवस्थाले विशेष गरी बाबुको पहिचान हुन नसकेका व्यक्ति, अनाथ बालबालिका र नाबालक परिचयपत्र लिने प्रक्रियालाई थप सहज र व्यवस्थित बनाएको छ। बाबुको पहिचान हुन नसकेको व्यक्तिले अब नागरिकता टोली वा प्रमुख जिल्ला अधिकारीसमक्ष स्वघोषणा गरेर नागरिकता लिन सक्नेछन्।

यदि निवेदन दिने समयमा आमाको मृत्यु भइसकेको होस वा ठेगानमा नभएको अवस्था भएमा चिकित्सकको सिफारिससहित निवेदकले स्वघोषणा गरी नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, पितृत्व र मातृत्वको ठेगान नभएका व्यक्तिको नागरिकता जारी गर्दा अब बाबु र आमाको नाम उल्लेख गर्ने ठाउँ खाली राख्न सकिनेछ। यस्तो अवस्थामा व्यक्तिको गोपनीयता र आत्मसम्मानलाई ध्यानमा राख्दै कुनै व्यहोरा उल्लेख नगरी खाली राख्ने र संरक्षक भएमा संरक्षकको नाम मात्र खुलाउने व्यवस्था गरिएको छ ।

१६ वर्ष उमेर पूरा नभएका बालबालिकाका लागि दिइने ‘नाबालक परिचयपत्र’का लागि नयाँ अनुसूची र प्रक्रिया तय गरिएको छ। परिचयपत्र लिन जन्म दर्ता प्रमाणपत्र, बाबु वा आमाको नागरिकता र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ। यो परिचयपत्र १६ वर्ष पुगेपछि स्वतः रद्द हुनेछ।

वैवाहिक अङ्गीकृत नागरिकता लिन चाहने विदेशी महिला वा बाबुको नागरिकताको आधारमा नागरिकता लिन चाहनेले आफूले विदेशी मुलुकको नागरिकता नलिएको भनी स्वघोषणा (अनुसूची-७क) गर्नुपर्नेछ । साथै, विदेशी मुलुकको नागरिक भए भिसाको म्याद कायम रहेको निस्सा समेत बुझाउनुपर्ने प्रावधान थपिएको छ भने नेपाली नागरिकता त्याग गरी पुनः नेपाली नागरिकता कायम गर्न चाहनेहरूका लागि पनि निवेदनको नयाँ ढाँचा निर्धारण गरिएको छ।

नागरिकता वितरण प्रक्रियालाई छिटो छरितो बनाउन प्रमुख जिल्ला अधिकारीले वंशज र अङ्गीकृत नागरिकता जारी गर्ने अधिकार आफ्ना मातहतका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत वा सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गर्न सक्ने व्यवस्था गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*