हेटौंडा । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै बिहीबार सूचना प्रकाशन गरेको हो ।
त्यसैगरी मकवानपुर जिल्लामा निर्वाचनका लागि एक हजार ८६० जना निर्वाचन प्रहरी आवस्यक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक पुस्कर बोगटीले बताएका छन्। आवस्यक निर्वाचन प्रहरीका लागि यही पुस २५ गतेबाट आवेदन लिइनेछ ।
भर्नाका लागि माघ १ गतेसम्म दर्खास्त दिन सकिनेछ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा उल्लेख छ ।
निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रुपमा भर्ना भई सन्तोषजनक रुपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन् ।






















