हेटौंडा । मकवानपुरमा क्रियाशील राजनीतिक दललाई फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको छ।
निर्धारित तालिकाअनुसार माघ ६ गते बिहान १० देखि ११ बजेसम्म मंगोल नेशनल अर्गनाइजेसनलाई पहिलो समय दिइएको छ । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीलाई ११ देखि १२, नेकपा एमालेका लागि १२ देखि १ बजेसम्म समय तोकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ देखि २ बजेसम्म मनोनयन दर्ता गर्न पाउनेछ ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टीका लागि २ देखि ३, नेपाली कांग्रेसका लागि ३ देखि ४ र उज्यालो नेपाललाई त्यसपछिको एक घण्टा समय छुट्याइएको छ। स्वतन्त्र उम्मेदवारले भने बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जुनसुकै समयमा उम्मेदवारी दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सुरक्षा व्यवस्था र मतदानस्थलको तयारीबारे जानकारी गराएका थिए । हेटौंडा-११ थानाभर्याङस्थित कृषि थोक बजारको भवनमा मकवानपुरका दुवै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको छ ।
मनोनयन दर्ताका क्रममा उम्मेदवारसहित बढीमा १५ जनालाई मात्र कार्यालय परिसरमा प्रवेश गर्न दिने निर्णय बैठकले गरेको छ । निर्वाचन कार्यालयकाअनुसार मकवानपुर-१ मा १ लाख ५८ हजार ४ सय ३५ र मकवानपुर-२ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता रहेका छन् । दुवै निर्वाचन क्षेत्रमा गरी १ सय ५ मतदानस्थल रहनेछन् ।
निर्वाचन अधिकृत गीता श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सर्वपक्षीय बैठकले उम्मेदवारी दर्ताका लागि समय निर्धार्रण गरेको हो।






















