हेटौंडामा भीषण आगलागी: माहाशक्ति साबुन उद्योग जलेर नष्ट

हेटौंडा टुडे
२०८२ माघ ११, आईतवार ११:२१ गते

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको माहाशक्ति साबुन उद्योगको गोदाममा गएराति भीषण आगलागी भएको छ। उद्योग परिसरमै रहेको तयारी साबुन तथा कच्चा पदार्थ भण्डारण गरिएको गोदाममा अचानक राति करिब ११ः५० बजे विद्युत् सर्टसर्किट भई आगो सल्किएको हो।

आगलागीबाट गोदामभित्र रहेका सम्पूर्ण तयारी सामान, कच्चा पदार्थ र प्याकिङ सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीका अनुसार मध्यरातमा सुरु भएको आगोका कारण गोदाममा रहेका कुनै पनि सामान जोगाउन सकिएन। प्रारम्भिक अनुमानअनुसार करिब १० देखि १२ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए। क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।

रातिको समयमा आगलागी भएपछि तत्काल नियन्त्रण प्रयास गरिए पनि आगो तीव्र भएकाले ठूलो क्षति हुन पुगेको व्यवस्थापक बुढाथोकीले जानकारी दिए।

आगलागीको खबर पाउनेबित्तिकै हेटौँडा उपमहानगरपालिकाका दुईवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए। सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

घटनाको कारण र क्षतिको यकिन विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*