हेटौंडा। सहिद दिवसका अवसरमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सहिदको सपना साकार पार्न अब व्यवस्था परिवर्तनमा अल्झिनु भन्दा पनि यही व्यवस्थाभित्र जनताको जीवनस्तर र अवस्था बदल्न केन्द्रित हुनुपर्नेमा जोड दिनुभएकाे छ ।
सहिद दिवस २०८२ को अवसरमा सहिद स्मारक हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपालमा अब राणा र राजा फालेर जनताको सर्वोच्च व्यवस्था गणतन्त्र स्थापना भइसकेकोले थप राजनीतिक परिवर्तनका लागि कसैले सहिद हुनु नपर्ने बताउनुभयो । सहिदको त्याग र बलिदानबाट पछिल्लो समय प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाले सबै जातजाति, धर्म र समुदायको अधिकार रक्षा गर्ने हुँदा अब यहि व्यवस्थाको रक्षा गर्दै समृद्धिको यात्रामा अघिबढ्नुपर्नेमा उहाँले जोड दिनु भएको हो।
नेपालको झण्डा काँधमा राखेर आफ्नै देशको केन्द्र सिंहदरबार जलाउने कार्य नेपालीको हुनै नसक्ने भन्दै पछिल्लो समय भएका केही अराजक गतिविधिप्रति उहाँले कडा आलोचना गर्नुभयो । मुख्यमन्त्री बानियाँले भन्नुभयाे – `नयाँ पुस्ताको नाममा फैलाइएका भ्रम र वितण्डाहरूबाट जोगिन र मुलुकलाई समृद्ध बनाउन सिङ्गो राष्ट्र र राजनीतिक दलहरूलाई एकजुट हुन आह्वान गर्दछु ।´”उहाँले बताउनुभयो ।”
आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयाेजना गरेकाे कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख दिपक प्रसाद देवकोटाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा सहिद स्मारक विकास समिति अध्यक्ष तथा पुर्व मुख्यमन्त्री डाेरमणी पाैडेलले मन्तव्य राख्नुभएको थियाे ।






















