बागमती प्रदेश सभाको ८ वर्ष, ओझेलमा पर्दै विधायकी भूमिका

हेटौंडा टुडे
२०८२ माघ १८, आईतवार १२:५४ गते

हेटौंडा। नेपालको संघीय संरचनाको महत्त्वपूर्ण अभ्यासका रूपमा रहेको बागमती प्रदेश सभा आफ्नो स्थापनाको आठौँ वर्षमा आज प्रवेश गरेको छ ।  प्रादेशिक संरचना  पनि बागमती प्रदेश सभा मुलुकका सात प्रदेश मध्ये बलियो प्रदेश पनि हो । बागमती प्रदेश सभाले स्थापनाको आठौँ वर्ष पूरा गरेको छ।

२०७४ माघ १८ गते पहिलो अधिवेशन सुरु गरेको प्रदेश सभाले कानुन निर्माणमा सक्रियता देखाए पनि बनेका कानुनको कार्यान्वयन, संसदमा हुने छलफलको गुणस्तर र विधायकी भूमिकाको प्रभावकारिता माथि गम्भीर प्रश्न उठ्न थालेका छन् ।

प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ठानिएका ९९ कानुनमध्ये हालसम्म प्रदेश सभाबाट ९० वटा विधेयक पारित भएका छन् । तीमध्ये ८९ वटा कानुन प्रदेश राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा पुगेका छन् । प्रदेश चिठ्ठा सम्बन्धी एक विधेयक भने संसदबाट पारित भएर पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण नपाउँदा कार्यान्वयनमा जान सकेको छैन । उक्त विधेयक हाल पुनः प्रदेश सभामै विचाराधीन अवस्थामा छ । यसबाहेक तीन वटा विधेयक सभा, समिति र सचिवालय तहमा छलफलको चरणमा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयले कानुन निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहसँग छलफल, विषयगत समितिका सदस्यका लागि तालिम तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । तर पनि प्रदेशका कानुन कार्यान्वयनको अवस्था सन्तोषजनक भने छैन ।

स्थापनाको पहिलो कार्यकालमा तुलनात्मक रूपमा जिम्मेवार र जबाफदेही देखिएको प्रदेश सभा दोस्रो कार्यकालमा आइपुग्दा विधायकी भूमिकामा कमजोर देखिन थालेको छ । सांसदहरूको ध्यान कानुन निर्माणभन्दा विकासे योजना र बजेट वितरणमा बढी केन्द्रित भएको आलोचना बढ्दै गएको छ । संसदमा पेस भएका विधेयकहरूमाथि दलगत छलफल र सांसदहरूको व्यक्तिगत चासोसमेत घट्दै गएको पाइन्छ ।

प्रदेश सभाले आठौँ वार्षिकोत्सव मनाई रहँदा यसबीचमा नीतिगत चुनौतीसँगै प्रदेश सभाले गम्भीर भौतिक क्षति पनि व्यहोर्नुपरेको छ । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड हुँदा प्रदेश सभा संरचनामा ३२ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति भएको सचिवालयले जनाएको छ । आफ्नै भवन प्रयोग गर्न नसक्दा हाल हेटौँडा उपमहानगरपालिकाको परिसरमा रहेको हलमा अस्थायी रूपमा प्रदेश सभाका बैठक सञ्चालनको तयारी भइरहेको छ । उपसभामुख अप्सरा चापागाईँका अनुसार”
हललाई सामान्य मर्मत गरी टेबल, कुर्सी, माइक र आवश्यक इलेकट्रोनिक्स सामग्री जडान गरेर सभा सञ्चालन गरिएको छ।”

सुरुआतमा ११० सदस्यीय रहेको प्रदेश सभामा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन ६ जना सांसदले राजीनामा दिएपछि हाल सदस्य सङ्ख्या १०४ कायम छ । विभिन्न चुनौतीबीच प्रदेश सभाले आज आफ्नो आठौँ वार्षिकोत्सव विशेष कार्यक्रमसहित मनाउँदैछ । जलेको भवन परिसरमै वार्षिकोत्सव कार्यक्रम आयोजना गरी ‘प्रदेश सभा दर्पण’ विमोचन, गर्ने तयारी गरेको छ । आठ वर्षको अवधिमा कानुन निर्माणलाई उपलब्धिका रूपमा लिइए पनि ती कानुन नागरिक जीवनमा कत्तिको प्रभावकारी बने भन्ने प्रश्न भने अझै उत्तर खोजिरहेकै अवस्थामा छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*