हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र तथा सामग्री हेटौंडा आइपुगेको छ। हेटौंडा केन्द्रित तयारी तीव्र पारिएको छ भने व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सामग्री जिल्लामा सुरक्षित रूपमा आइपुगेको जानकारी दिएका छन् ।
“निर्वाचनका लागि आवश्यक मतपत्र, मतदान पेटिका, छाप, मसी, फाराम लगायतका सम्पूर्ण सामग्रीहरू जिल्लामा आइसकेका छन्,” उनले भने, “अब ती सामग्रीहरूलाई व्यवस्थित रूपमा सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ ।”
फागुन १८ गतेदेखि मतदान अधिकृत तथा सहायक अधिकृतहरू आ–आफ्नो केन्द्रमा पुग्ने तालिका तय गरिएको छ। उनीहरूले मतदाता नामावली प्रकाशन, सूचना टाँस तथा मतदान स्थलको अन्तिम तयारी गर्नेछन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनको भनाइ छ। मतदान केन्द्रको भौतिक अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा र संवेदनशीलताको मूल्याङ्कन पूरा भइसकेको छ। प्रशासन, सुरक्षा निकाय र निर्वाचन कार्यालयबीच निरन्तर समन्वय भइरहेको बताइएको छ।
मतदान केन्द्रमा खटिने कर्मचारीको तालिम अन्तिम चरणमा पुगेको छ भने आवश्यक सामग्रीसहित उनीहरूलाई केन्द्रमा पठाउने तयारी जारी छ। चारै सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा योजना बनाइएको र मतदातालाई निर्भय वातावरण सुनिश्चित गरिने प्रशासनले जनाएको छ।
निर्वाचन नजिकिँदै जाँदा जिल्लामा चुनावी गतिविधि बढेको छ। प्रशासनले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।






















