हेटौंडा । मकवानपुरमा योद्धा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१-०३३च२१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्रयाकको गाडी) सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान घर भएका पिकअपका चालक ४२ वर्षीय बोधराज बुढाथोकी र बारा पचरौता नगरपालिका–७ का २१ वर्षीय सूर्य यादवको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएको हो । चालक समेत रहेका मृतक बुढाथोकी नेपाली सेनाका पूर्व हबलदार हुन् भने यादव फास्ट ट्र्याक आयोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा मध्यराती दुर्घटना भएको थियो ।





















