हेटौंडा। बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रक्तसञ्चार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरूलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ।
बिहीबार हेटौंडामा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रसुवा र सिन्धुपाल्चोक बाहेकका ११ जिल्लाका नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलाई ब्लड बैंक रेफ्रिजेरेटर हस्तान्तरण गर्नुभयो। रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि तथा रगतको सुरक्षित भण्डारणका लागि उक्त उपकरण प्रदान गरिएको हो।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोइन्जिनियर नेल्सन महतका अनुसार प्रतिगोटा दुई लाख ७५ हजार ५५५ रुपैयाँ (भ्याट बाहेक) मूल्यका ११ थान ब्लड बैंक रेफ्रिजेरेटर करिब ३१ लाख रुपैयाँ (भ्याट बाहेक) लागतमा खरिद गरी प्राविधिक परीक्षणपछि हस्तान्तरण गरिएको हो।
उहाँले प्रदेश विपन्न नागरिक एवं आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७८ बमोजिम सेवा प्रवाह भइरहेका जिल्लामा उपकरण उपलब्ध गराइएको जानकारी दिनुभयो। कुनै कारणवश सम्बन्धित जिल्लामा रेडक्रसमार्फत सेवा सञ्चालन हुन नसकेमा उक्त उपकरण सम्बन्धित जिल्लाको जनस्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिने सर्तसमेत सम्झौतामा समावेश गरिएको उहाँले बताउनुभयो। हस्तान्तरण गरिएका २३० लिटर क्षमताका रेफ्रिजेरेटरमा एकैपटक १५० वटा ब्लड ब्याग सुरक्षित राख्न सकिनेछ। उपकरणमा थर्मल इन्सुलेसन, अटोमेटिक डिफ्रोस्ट, डाटा व्यवस्थापनलगायत आधुनिक सुविधा समावेश छन्।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले रेडक्रसलाई सेवाग्राहीका गुनासोरहित सेवा प्रवाह गर्न आग्रह गर्नुभयो। रगत सङ्कलन, भण्डारण र वितरण प्रक्रियामा बेला–बेला सेवाग्राहीका गुनासा आउने गरेको उल्लेख गर्दै उहाँले पारदर्शी, अनुशासित र जिम्मेवार ढङ्गले सेवा सञ्चालन गर्नुपर्ने बताउनुभयो।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले रगत सङ्कलनका लागि आवश्यक ब्लड ब्यागलगायत सामग्रीमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विपद्का समयमा रेडक्रसले पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। साथै प्रदेश सरकारले विपन्न नागरिकलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरिरहेको उहाँको भनाइ थियो।
प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रेडक्रसद्वारा सञ्चालित ब्लड बैंकहरूको क्षमता अभिवृद्धिका लागि रेफ्रिजेरेटर सहयोग कार्यक्रम सुरु गरिएको बताउनुभयो। सरकार र रेडक्रसबिचको सम्बन्ध नङ र मासुजस्तै घनिष्ठ रहेको उल्लेख गर्दै उहाँले भूकम्प, महामारी तथा अन्य विपद्का बेला रेडक्रसले अग्रपङ्क्तिमा रहेर उद्धार, राहत तथा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको बताउनुभयो।
रेडक्रस मानवीय सेवामा समर्पित संस्था भएको उल्लेख गर्दै मन्त्री थापाले आगामी दिनमा पनि सरकार र रेडक्रसबीचको सहकार्यलाई अझ सुदृढ बनाइने बताउनुभयो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका सभापति भोला रुपाखेती, रेडक्रसका पूर्व केन्द्रीय उपमहासचिव मनोजकुमार थापालगायत वक्ताहरूले रक्तसञ्चार सेवालाई थप प्रभावकारी र विश्वसनीय बनाउने दायित्व बढ्दै गएको धारणा व्यक्त गरेका थिए।


















