हेटौँडा/ लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ। चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबभन्दा ठूलो र महान् पर्व छोनाम न्वागीको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। कोरोना जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर पर्व मनाउने अनुरोध गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक सूचना मार्फत चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा आज सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएका थिए। चेपाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको अध्यक्ष मल्लले जनाएका छन् । न्वागीकै अवसरमा आइतबार राक्सिराङको चैनपुरमा विशेष कार्यक्रम न्वागी उत्सव गरिने नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ।






















