हेटौँडा/ आज भदौ २९ गते अर्थात ५७ औं राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ। नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ। सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ। विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो।
यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
बालबालिकाको हक, हित र बाल अधिकारको शंरक्षण तथा सम्बर्धनका लागि संयुक्त राष्ट्र संघीय बाल अधिकार सम्बन्धी महासन्धीका प्रावधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबध्दता र नेपालको संबिधान र कानूनले प्रत्याभुत गरेका बालबालिकाको हक हितको कार्यान्वयन नेपाल सरकारको सर्बोच्च प्राथमिकताका बिषयहरु हुन् ।






















