हेटौँडा/ दशैँको मूल टीका शुक्रबार सम्पन्न भइसक्यो । तर दोस्रो दिन आज (शनिबार) पनि मान्यजनबाट दशैँको टीका तथा जमरा लगाएर आशीर्वाद लिने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि सुरु हुन्छ। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा विजया दशमी मनाउन शुरु गरिएको शास्त्रीय मान्यता छ।
कोरोनाका कारण नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ। नजिकको परिवारका सदस्य पनि काम विशेष टाढा रहने भएकाले कोजाग्रत पूर्णिमाका दिनसम्म टीका लगाउन हिँड्नेहरु हुन्छन्।
मूलतः घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरेर उमारिएको जमरा तथा प्रसाद पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका तथा जमरा ग्रहण गर्दा सुख, शान्ति, समृद्धि प्राप्त हुने जनविश्वास रहिआएको छ ।
यसैगरी आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ। आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अङ्कुश लाग्ने धार्मिक विश्वास छ।






















