हेटौँडा/ मकवानपुरको साविक राइगाउँ गाविस वडा नम्बर (८ र ९) हालको बागमती गाउँपालिका वडा नम्बर-३ घट्टा डाँडामा विद्युत सेवा बिस्तार भएको छ । लामो समयदेखि सोलार र टुकी बत्तीमा निर्भर रहेको बस्तीमा बिजुली बत्तीको उज्यालो सेवा पुगेपछि वडा नम्बर-३ को तीनभंगले, माझीटोल, घट्टदमार, सल्यानी, चिरुवा र जरायोटारबासीले अध्याँरोबाट मुक्ति पाएका छन् ।रौतहटको चन्द्रपुर नगरपालिकासँग सीमाना जोडिएको उक्त गाउँमा बागमती गाउपालिका अध्यक्ष सर्केस घलान (मधु)ले स्वीच दबाएर बिजुली बत्तीको उद्घाटन गरेको वडाध्यक्ष बल बहादुर पाख्रिनले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बागमती गाउपलिका प्रशासकीय प्रमुख दिलीपकुमार श्रेष्ठ, लेखा अधिकृत झम्क घलान, विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र फापरबारी फ्युज शाखा इन्चार्ज माधव थापा, बागमती कार्यपालिका सदस्य भगवती माझी, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सदस्य दिल दोर्जे पाख्रिन, नेकपा माओवादी केन्द्र बागमती गाउपालिका पार्टी कमिटी अध्यक्ष अरुण बल, सदस्य सुनिल बज्यु, वाइसीएल बागमती प्रदेश कमिटी सदस्य विष्णु नेगी, बागमती गाउँपालिका वाइसीएल अध्यक्ष मुक्ति लामा, वडापालिका सदस्य वीर बहादुर थिङ, सहिद परिवार हिमाल बिक लगायतको उपस्थिति रहेको थियो ।






















