हेटौँडा/ अहिले नेपाल आयल निगमले देशभरका लागि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै एलपी ग्यासको मूल्य १५ सय ७५ रुपियाँ पुर्याएको छ । तर, थाहानगरमा भने न्यूनतम पनि १६ सय रुपियाँ छ ।
थाहानगरको मूख्य बजारहरुमा प्रति सिलिण्डर १६ सय रुपियाँ हुँदा भित्री बजार तथा नगरका अन्यत्र त साँढे १६ सय रुपियाँसम्म लिने गरेको बुझिएको छ ।
थाहानगरमा एलपी ग्यासको मूल्य अन्यत्रभन्दा २५ रुपियाँ महंगो हुनुमा ढुवानीको कारण रहेको बताउँदै साहारा र लुम्बिनी ग्यासका आधिकारिक विक्रेता जंगली सप्लायर्सका प्रोपाइटर बद्रीनाथ ढकाल भन्नुहुन्छ, ‘यहाँ डिपोहरुलाई सम्बन्धित ठाउँहरुमै ढुवानी गर्नु पर्नाले २५ रुपियाँ बढी हुन पुगेको हो, तर उपभोक्तालाई मर्का परिरहेको भन्ने होभने हामी नोक्सानी मै भएपनि निगमकै मूल्यमा विक्री गर्न तयार छु ।’ ढकालले भन्नुभयो, ‘त्यसो त मैले १५ सय ७५ रुपियाँ भन्दा बढीमा विक्री गरेको छैन, तर डिपोले लिने नाफाले गर्दा अन्त भन्दा २५ रुपियाँ बढी पर्न गएको देखिन्छ ।’
एचपी र साहारा ग्यासका अर्का आधिकारिक विक्रेता एसके सप्लायर्सका प्रोपाइटर गुप्तबहादुर कार्की भने आफूले अहिलेसम्म १५ सय ७५ रुपियाँमा नै विक्री गर्दै आइरहेको बताउनु हुन्छ । कार्कीले भन्नुभयो, ‘कानूनी दायरमा रहेका डिपोहरु आएर सम्झौता गरेर विक्री गर्न चाहेमा आफूले निगमको नियमानुसार डिपोलाई विक्री गर्न सक्छु तर, अहिलेसम्म खुद्रा मूल्यमै विक्री गरिरहेको छु ।’ कार्कीका अनुसार थाहानगरमा आधिकारिक डिपोहरु भने छैनन्, अहिलेसम्म जो जो डिपोको रुपमा विक्री गरिरहेका छन्, सबैले व्यवहारिक रुपमा मात्रै विक्री गरिरहेको पाइएको छ ।
थाहानगरमा मासिक करिब ६ हजार सिलिण्डर खपत हुँदै आएको छ । नेपाल आयल निगमका अनुसार तोकिएको मूल्यभन्दा बढी दरमा विक्री गर्न पाइँदैन । तर, थाहानगरमा रहेका आधिकारिक विक्रेताहरुलाई स्थानीय ‘डिपो’हरुलाई नै निगमकै मूल्यमा ९१५ सय ७५ रुपियाँ० विक्री गर्ने गरेका छन् । डिपोहरुले निगमकै मूल्यमा आधिकारिक विक्रेतासँग खरिद गरेपछि २५ रुपियाँ नाफा राखेर विक्री गर्ने गरेको बताउँछन् ।
यस सम्बन्धमा तत्काल सरोकारवाला निकायहरुको बैठक राखी मूल्य समायोजन गर्न पहल गर्ने थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले बताउनु भयो । स्थानीय तहमा अहिलेसम्म कुनै उजुरी नआएको बताउँदै तत्काल विक्रेताहरुसँग यस विषयमा छलफल गरिने थाहानगरका उपप्रमुख खड्ग गोपालीले बताउनु भयो ।






















