हेटौंडा/ चितवनको राप्ती नगरपालिका र खैरहनी नगरपालिकाको केहि वडाहरुका स्थानीय समस्यामा परेका छन् । स्थानीयलाई जानकारी विनै विद्युत प्राधिकरण र स्थानीय तहले विद्युतको हाईटेन्सन लाईन बस्तीबाट लैजान खाल्डो खन्न सुरु गरेपछि राप्तीको ६ नंबर वडा र खैरहनीको ६,७,९ र १० नंबर वडाका करिब ४ हजार घरधुरी समस्या परेको हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समितिका संयोजक केशव राज भट्राईले बताए ।
आज हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयोजक भट्राईले वैकल्पिक राजमार्ग हुँदा हुँदै केहि जनप्रतिनिधिहरुले व्यक्तिगत फाईदाको लागि हाईटेन्सनलाई बस्तीको बिच भागबाट लैजान पोलको लागि खाल्डो खन्न अनुमति दिएको बताए । उनले हर्तिबाट चैनपुरसम्मको करिब ७.५ किलोमिटर बस्तीमा ३ महिनाबाट खाल्डो खन्न सुरु भएको र हाल स्थानीयले हाईटेन्सनको बिरोध भएपछि काम रोकिएको बताए ।
यसैगरि,पत्रकार सम्मेलनमा बोल्दै समितिका सदस्य नवराज फुँयालले हाईटेन्सनबाट १५ हजार स्थानीय प्रत्यक्ष समस्यामा परेको बताए । उनले भनेः बस्तीका स्थानीयलाई जानकारी विनै हाईटेन्सनको काम सुरु भयो । हामीले टाईटेन्सन बस्तीबाट लैजान हुँदैन भनेर संघर्ष समिति बनाएर एक भएर विरोध गरेपछि हाल काम रोकिएको छ । हाईटेन्सन बस्तीबाट लैजान हुँदैन ।
वैकल्पिक बाटोहरु देखाईरहेका छौ । सदस्य फुँयालले दुबै नगरपालिकालाई हाईटेन्सनले निम्त्याउने समस्या जानकारी दिन खोज्दा पनि जनप्रतिनिधिहरुले आफुहरुको कुरा सुन्न नमानेको बताए । उनले हाईटेन्सन बस्ती बिचबाट आउँदा हाईटेन्सन क्षेत्रको घरहरुलाई बैंकले लोन नदिने देखि लगानी गर्न नमान्ने समस्या हुँदा करिब १ अर्ब ७६ करोड नोक्सान हुने बताए ।
उनले भनेः हामी पनि विकास चाहान्छौ,हामी विकास विरोधी होईनौ,हाईटेन्सन बन्नु पर्छ तर बस्ती बिचबाट हैन वैकल्पिक मार्गबाट लैजाऔं । उनले आज संघर्ष समितिले बागमती प्रदेश मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको बताए । सदस्य फुँयालले मुख्यमन्त्री पाण्डले उक्त क्षेत्रको हाईटेन्सनको अध्ययन गरिने र वैकल्पिक मार्गतर्फ बाट लैजाने आश्वासन दिएको बताए । उनले हाईटेन्सनलाई खोला र जंगलको बाटो नजिकबाट लैजानुपर्ने बताउँदै बस्तीबाट लैजान खोजिए संघर्षका कार्यक्रम सार्वजनिक गरेर अघि बढ्ने चेतावनी दिए ।






















