मकवानपुरको चेपाङ बस्तीमा आजदेखि खोप अभियान सुरु

हेटौंडा टुडे
२०७८ माघ ७, शुक्रबार ११:४८ गते

हेटौँडा/जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले चेपाङ बहुलता भएका दुई गाउँपालिकामा आजदेखि खोप अभियान सुरु गर्दैछ । जिल्लाका विकट राक्सिराङ र कैलाश गाउँपालिकाका निकै कम स्थानीयले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । कार्यालयले गाउँ, टोलमै पुगेर खोप अभियान सञ्चालन गरेको हो । दुवै गाउँपालिकाले माघ १५ गतेसम्म दुवै खोप नलगाएका बासिन्दालाई कुनै पनि सेवासुविधा उपलब्ध नगराउने निर्णय पनि गरेका छन् ।

राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा बिहीबार भएको स्वास्थ्यकर्मी, जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, महिला स्वास्थ्य स्वयंसेविकालगायत सर्वपक्षीय भेलाले हरेक घरबाट टोलमा जम्मा पारेर खोप लगाउने निर्णय गरेको छ । खोप लगाउन ११ वटा टोली गठन गरेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए । शुक्रबारदेखि सबै वडाका विभिन्न टोल र बस्तीमा पुगेर खोप लगाइने उनले बताए ।

९ वडा रहेको राक्सिराङका हरेकजसो बस्तीमा घरैपिच्छे अहिले कोरोनाका लक्षण भएका बिरामी छन् । उनीहरूको पीसीआर तथा ऐन्टिजेन परीक्षण गरिएको छैन । पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ गाउँपालिका—६ सिलिङेका चेपाङ बस्तीका प्रत्येक घरमा रुघाखोकी, घाँटी र जीउ दुख्ने बिरामी बढेका छन् । उनीहरूको पनि परीक्षण नगरिएको वडाध्यक्ष सिंहलाल चेपाङले बताए ।

उक्त वडाको सिलिङे, सिमर, खरखन्डे, धुस्सराङलगायत बस्तीका बासिन्दा केही दिनदेखि रुघाखोकी, घाँटी दुख्ने, जीउ दुख्नेलगायत लक्षणबाट पीडित छन् । चेपाङ समुदाय बसोबास रहेको उक्त क्षेत्रका अधिकांश बासिन्दाले खोप पनि लगाएका छैनन् । ती गाउँमा कोरोनाको खोप लगाए मृत्यु हुने र दीर्घरोगी भइने भ्रम फैलिएको छ । राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विजयकुमार कापरीले भने, ‘गाउँपालिका भरीमा पहिलो खोप ४० प्रतिशतले लगाएका छन् भने दोस्रो खोप २७ प्रतिशतले मात्र लगाएका छन् ।’ अब सबैलाई खोप लगाउन शुक्रबारदेखि नै अभियान चलाएको कापरीले बताए ।

कैलाश गाउँपालिका केन्द्र कालिकाटारमा बिहीबार भएको भेलाले पालिकाका सबैलाई खोप लगाउनका लागि १० वटा टोली गठन गरेको पालिका स्वाथ्य शाखा प्रमुख श्यामसुन्दर महतोले बताए । कान्तिपुरबाट

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*