हेटौंडामा आजदेखि दुईदिने बाल साहित्य कार्यशाला सुरु भएको छ । कार्यशालाको पहिलो दिन आज निबन्ध लेखन कार्यशाला सम्पन्न भएको छ । सिद्धार्थ माविको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षक श्यामकुमार बानियाँले निबन्धका सैद्धान्तिक पक्ष, विद्यालय तहको पाठ्यक्रममा निबन्धको स्वरुपका साथै निबन्ध लेखनका सीपबारे सहजीकरण गरेका थिए । कार्यशालाका सहभागीलाई विभिन्न विषयमा निबन्ध लेख्न लगाई उत्कृष्ट निबन्धहरूलाई पुस्तकका रुपमा प्रकाशित गर्ने उद्देश्य रहेको कार्यशाला संयोजक छविलाल श्रेष्ठले बताएका छन् । कार्यक्रममा बोल्दै महाशाखा प्रमुख गंगाधर रिमालले यस प्रकारका कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यशाला अन्तरगत शनिबार बालबालिकाले के पढ्ने र कसरी लेख्ने विषयमा बहस कार्यक्रम सञ्चालन हुँदैछ । बहसमा बाल साहित्य समाज नेपालका अध्यक्ष प्रा। डा। ध्रुवकुमार घिमिरे, लेखक अनुराधा शर्मा, प्रकाशक रामचन्द्र तिमोथी र बाल साहित्यका अभियन्ता दीपक गौतमको सहभागीता रहनेछ । हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा बिहान ८ बजेदेखि हुने कार्यक्रममा मकवानपुरका कविहरूका शिक्षासम्बन्धि कविता समेत वाचन हुनेछन् ।कार्यशालामा उपमहानगरभित्रका विभिन्न २५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका ५० भन्दा बढी विद्यार्थीको सहभागीता रहेको छ ।






















