हेटौंडा/हेटौंडा सामुदायिक आँखा अस्पतालले बुधबार मकवानपुरका संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरेको छ ।अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले आँखामा लाग्ने रोगहरुका बारेमा जानकारी दिदै समयमै आँखाको परिक्षण गराउन समेत आग्रह गर्नुभएको छ ।आँखा जस्तो संबेदनशिल अङ्गलाई हेलचेक्राई नगरी उपचारमा ध्यानदिन समेत उहाँले आग्रह गर्नुभयो ।
उहाँले आँखामा हुने समस्याहरु न्यून दृष्टि, दृष्टि दोष, अल्छी आँखा,आँखामा हुने चोटपटक, आँखाको आपतकालिन अबस्था, नवजात शिशुमा पाक्ने रोग, आँखाको नानीमा हुने घाउ, मधुमेहले गर्दा आँखाको पर्दामा हुने असर, जलबिन्दु, मोतिबिन्दु लगाएतका आँखाका रोगहरुको बारेमा कसरी यि रोगहरु हुन सक्छन,कसरी थाहा पाउने र रोकथाम तथा उपचार कसरी गर्ने भन्ने बारे जानकारी दिनुभयो ।
डाक्टर थकालीले समयमै आँखाको उपचार गर्नमा जोड दिदै आँखामा हुने समस्या समाधानमा लाग्न आग्रह गर्नु भयो । अन्तरकृयामा अस्पतालका प्रशासकिय अधिकृत सुधिरभद्र श्रेष्ठले संचारकर्मीहरुले आँखा अस्पताललाई सुचना प्रवाहमा खेल्नु भएको भुमिका प्रति धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्तै सहजिकरण रहनेमा जोडदिनु भयो ।उहाँले हेटौँडा आँखा अस्पतालमा दैनिक तिन सय आँखाका बिरामीहरुले सेवा लिईरहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्का, मकवानपुरका अध्यक्ष मणिराज गौतम लगाएत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।






















