आज बडादशैंको मुख्य दिन, टीकाको उत्तम साइत ११:५१ बजे

हेटौंडा टुडे
२०७९ आश्विन १९, बुधबार ०७:०१ गते

हेटौंडा । आज बडादशैंको मुख्य दिन आज टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएको छ । विजया दशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवी विसर्जनको साइत आज बिहान १०: ३४ बजे रहेको छ ।

विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने बताउँछन् धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले सुनाए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*