हेटौंडा । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार फोहोर व्यवस्थापन सम्बन्धित स्थानीय सरकारको जिम्मेवारी हो । मकवानपुरगढी गाउँपालिका वडा नमबर – ३, ४ र हेटौंडा उपमहानगरपालिका वडा नम्बर – ६ मा पर्ने चुच्चेखोला सामुदायिक र रानी सामुदायिक वन क्षेत्रमा थुप्रिएको फोहोरले वातावरण प्रदुषित र दुर्गन्धित भईरहेको छ । तर हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाँउपालिकाले फोहोर व्यवस्थापनमा भने कुनै चासो देखाएको छैन् ।
मकवानपुरगढी गाउँपालिका नजिकै रहेको उक्त वन क्षेत्रमा फोहोरको डङ्गुर थुप्रिएको छ । तर गाउँपालिकाले त्यसको व्यवस्थापनमा पहल नगरेको स्थानीयहरुको गुनासो छ । जनताको समस्यालाई प्रत्यक्ष सम्बोधन गर्ने जिम्मेवारी स्थानीय सरकारको हो । तर स्थानीय सरकारले भने फोहोर व्यवस्थापनलाई नजर अन्दाज गरिरहेको स्थानीयहरु बताउँछन् । हरेक आर्थिक वर्षमा स्थानीय सरकारले फोहोर व्यवस्थापनलाई निति कार्यक्रममै समावेश गरेर बजेट विनियोजन गरेको हुन्छ । बजेट छुट्याएर पनि काम गर्न नसक्नु स्थानीय सरकारको असक्षमता भएको स्थानीयहरुले आरोप लगाएका छन् ।
चुच्चेखोला सामुदायीक वन र रानी सामुदायीक वन क्षेत्रसँग जोडिएको हेटौंडा–६ मकवानपुरगढी–३ र ४ नम्बर वडामा रहेका विभिन्न सरकारी कार्यालयहरु ,होटल पसलहरु, उद्योग र स्थानियहरुको घरबाट निस्किने फोहोर वनमा फ्याल्ने गरेका कारण वन क्षेत्र प्रदुषित हुदै आएको छ । वन क्षेत्रमा सुर्ती, चाउचाउ, बिस्कुटका खोल , पानीका बोतल, सिसि र म्याद नागेको औषधि लगायत सामग्री जथाभावी वनमा फाल्ने गरेकाले प्रदुषित भएको हो । हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाले यस क्षेत्रको फोहोर व्यवस्थापनमा तदारुकता देखाउन जरुरी देखिन्छ ।






















