हेटौंडा | रौतहटको गौर नगरपालिका–३ दाल मिलस्थित फलक पोल्ट्री फर्म नामक कुखुरा फर्मबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित शनिबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले १ सय ८० केजी अवैध लागूऔषध गाँजासहित मकवानपुरका एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–३ बस्ने २१ वर्षीय सुरेन्द्र स्याङताङ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उक्त कुखरा फर्मभित्र लागूऔषध गाँजा राखेको भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले खोजतलासी गर्दा कुखुरा फर्मभित्र सो परिमाणको लागूऔषध बरामद भएको थियो ।
साथै प्रहरीले सोही स्थानमा पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००६–ख २८३० नम्वरको मिनि ट्रक समेत फेला परेको र ट्रक चालक स्याङताङलाई सोधपुछ गर्दा उक्त ट्रकमा लागूऔषध ल्याएको खुल्न आएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।






















