हेटौँडा सिमेन्टको मूल्य घट्यो

हेटौंडा टुडे
२०७९ मंसिर २९, बिहीबार १४:३० गते

हेटौंडा| सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्टको मूल्य घटेको छ। निजीको मूल्य कम भएपछि सरकारी लगानीको हेटौँडा सिमेन्टले पनि मूल्य घटाएको हो।

निजी क्षेत्रबाट सञ्चालित उद्योगबाट उत्पादित सिमेन्टको मूल्यसँग प्रतिष्पर्धा गर्न मूल्य घटाएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक बसन्त पाण्डेले बताए।

पाण्डेकाअनुसार प्रतिबोरा ४० रूपैयाँका दरले मूल्य घटाइएको छ। यस अघि उद्योगले प्रतिबोरा ७४६ रूपैयाँ ९३ पैसाका दरले बिक्री गर्दै आएको थियो।

अब ग्राहकले प्रतिबोरा ७ सय ६ रूपैयाँ ९३ पैसा तिर्नुपर्ने हुन्छ। यो मूल्य ग्राहकले पुस मसान्तसम्म पाउने पाण्डेको भनाइ छ।

‘यो छुट ग्राहकले एक महिनासम्म पाउँछन्। त्यसपछि हामी बजार अध्ययन गरेर मूल्य निर्धारण गर्छौं,’ उनले भने।

एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौँडा उपमहानगरपालिका–९ मा ०३२ सालमा स्थापना भएको यस उद्योगले ०४२ देखि उत्पादन सुरू गरेको हो।

उद्योगको हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ। अहिले निर्माणका काम सुस्ताएकाले उद्योगले क्षमताअनुसार उत्पादन गरेको छैन।

हाल दैनिक २५ सय देखि तीन हजार बोरा सिमेन्ट बिक्री भइरहेको उद्योगले बताएको छ। सो परिमाणको सिमेन्ट घरायसी आवास बनाउन प्रयोग भइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*