हेटौंडा । वालमैत्री नगर घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरपालिकाले उमेर नपुगी हुन लागेको विवाहलाई रोकेको छ ।
वालमैत्री वडा सहजकर्ता र सम्पर्क व्यक्तिको सकृयतामा यही फागुन १० गते हेटौंडा उपमहनगरपालिका वडा नं। १४ र १७ मा उमेर नपुगी विवाह गर्न लागेको बालविवाहलाई रोकिएको हो ।
१८ बर्ष भन्दा मुनिका बालबालिकाको विवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्नका लागि नमिल्ने भनि जानकारी गराउँदै बालविवाह रोकिएको हेटौंडा उपमहानगर महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।
वालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा बिभिन्न होटल तथा व्यवसायीक क्षेत्रमा प्रयोग भएका ७ जना वालबालिकालाई पुनर्स्थापनाको काम गरेको महशाखाले जनाएको छ ।
२०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको हेटौंडा उपमहानगरको १ नगर र १९ वडाका २० जना सहजकर्ता नियुक्त गरेको बालमैत्री स्थानिय शासन सम्बन्धी क्षमता बिकास तालिम दिएको छ ।
तालिमका क्रममा सहजकर्ताहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिकाको तथ्याङक संकलनका क्रममा गर्ने समन्वय तथा सहजिकरणका बिषयमा जानकारी गराइने लामिछानेले बताइन् ।
लामीछानेका अनुसार नियुक्त गरिएको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गरीने छ । उपमहानगरलाई बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ ।
सरकारले २०८७ सम्म नेपालललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १९ वटै वडाका निर्वाचित सदस्यहरु वडा सम्पर्क व्यक्तीका रुपमा तोकिएको छ ।





















