हेटौडा । आज १७ औँ लोकतन्त्र दिवस मनाइँदै छ । दोस्रो जनआन्दोलन ०६२ र ६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो। सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ ।
विसं २०६२र०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालको अन्त्यको सम्झनामा हरेक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाइएको हो । यो दिवस विसं २०६४ सालदेखि देशभर मनाउन थालिएको हो। यस दिनलाई नेपाली जनताहरूले आफू विजयी भएको दिनको रूपमा स्मरण गर्दछन् ।
निरङ्कुश राजतन्त्रले २०६२र ६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन पछि वैशाख ११ गते घुँडा टेकेको थियो । त्यति बेला १९ दिने ऐतिहासिक जनआन्दोलन र सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरू बिच १२ बुँदे सहमति भएको थियो ।
पुनः स्थापित संसद् बैठकले जेठ ४ गते राजा र राजदरबारको अधिकार कटौती गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्पको प्रस्ताव पारित गर्यो । २०६३ मङ्सिर ११ मा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । यसैको आधारमा पहिलो संविधानसभा निर्वाचन २०६४ चैत २८ गते भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक घोषणा गरेको थियो ।





















