हेटौंडा । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।
राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।
काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्ध लगायत स्थानमा यो दिन विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ । बुद्ध धर्म र गौतम बुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन् ।
संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन् ।






















