हेटौंडा एकेडेमीले भन्योः शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थीको उपचार खर्च व्यहोर्छौँ

हेटौंडा टुडे
२०८० जेष्ठ १७, बुधबार १३:५४ गते

हेटौंडा| हेटौंडा एकेडेमीले  शिक्षकको निर्मम कुटपिटबाट घाइते भएका विद्यार्थीको उपचार खर्च व्यहोर्ने जनाएको छ ।

विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै घाइते विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिवद्धता जनाएको हो ।

विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचिएको घटना स्वीकार गर्दै घटनामा संलग्न शिक्षकलाई कारबाही स्वरुप बर्खास्त गरिसकिएको समेत बताएका छन् ।

विद्यालयले दण्डरहित शिक्षाको अवधारणा अवलम्वन गरेको भन्दै आगामी दिनमा यस्ता घटना नदोहोरिने उनले बताए ।

गएको फागुन २८ गते विद्यालयका शिक्षक सरोज श्रेष्ठले कक्षा ६ मा अध्ययरत १२ वर्षका सिर्जन श्रेष्ठमाथि अनुशासन नमानेको भन्दै निर्मम कुटपिट गरेका थिए ।

शिक्षकको कुटाइबाट सिर्जनको बाँया हात दुई ठाउँमा भाँचिएको थियो ।

हात भाँच्चिएपछि विद्यालयले बालकको उपचारसमेत गर्न नमानेपछि केही दिन अघि पीडित विद्यार्थीका मनहरी–३ निवासी बाबु केदार उप्रेती घटना बाहिर ल्याएका थिए ।

सो घटनाबारे सञ्चार माध्ययमहरुमा समाचार प्रकाशित भएपछि विद्यालयले उपचार खर्च व्यहार्ने बताएको छ । यता, घाइते विद्यार्थीको उपचार जारी रहेको उनका अभिभावकले जनाएका छन् ।

हेटौंडा एकेडेमी अरुणराज सुमार्गीको मुख्य लगानीमा सञ्चालित नीति विद्यालय हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*