सवारी दुर्घटना हुँदा तीन जना बेपत्ता

हेटौंडा टुडे
२०८० जेष्ठ १९, शुक्रबार १७:३४ गते

हेटौंडा|सुनकोशी नदीमा शुक्रबार बिहान ११ बजे आसपासमा स्कार्पियो खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो ।

चार जना सवार रहेका उक्त स्कार्पियो दुर्घटना हुँदा तनहुँ भानु नगरपालिका–९ घर भई सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भई हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर स्कार्पियो चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी घाइते भएका छन् । चौधरी पौडी खेली बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ ।

बेपत्ताहरूको खोजी भइरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*