अतिरिक्त हुलाक खारेज गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण

हेटौंडा टुडे
२०८० असार ७, बिहीबार १०:५२ गते

हेटौडा । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसन मकवानपुरले अतिरिक्त हुलाक खारेज गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
एशोसियसन मकवानपुरका अध्यक्ष सानुराज शाह र केन्द्रिय महासचिव अर्जुन सापकोटालगायत एशोसिएसनको समूहले आज जिल्ला प्रहरी, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालय तथा प्रतिनिधिसभा सांसद् द्वय दिपकबहादुर सिंह र महेश बर्तौलामार्फत् केन्द्रिय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै केन्द्रिय महासचिव सापकोटाले सरकारले आगामी आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने तयारी गरेको भन्दै आपत्ती जनाए ।
‘अतिरिक्त हुलाकमा देशभरका करिब १० हजार ५५८ कर्मचारी आवद्ध छन् । सरकारले अतिरिक्त हुलाक खारेज गर्दा उनीहरु सबै बेरोजगार हुन्छन् । त्यसकारण हुलाक खारेज गरिनुहुन्न । यदि गर्ने नै हो भने १० वर्षदेखि २० वर्षसम्म काम गरेका कर्मचारीलाई ५ लाख, २० देखि ३० वर्ष काम गरेकालाई ७ लाख, ३० देखि ४० वर्ष काम गरेकालाई ९ लाख र ४० वर्षभन्दा बढी काम गरेकालाई १० लाख रुपैयाँ दिएर मात्रै हटाउन हामीले सरकारसँग माग गरेका हौँ ।’ उनले भने ।
जिल्ला अध्यक्ष शाहले थोरै तलब सुविधामा पनि इमान्दारितापूर्वक काम गर्दै आएका कर्मचारीलाई सरकारले बिचल्लि पार्न नहुने बताए । उनले आफुहरुको माग राज्यले सम्बोधन नगरे चरणवद्ध आन्दोलन गर्न आफुहरु बाध्य हुनेसमेत बताए ।
‘राज्यले हाम्रो मागलाई बेवास्था गरेमा जिल्ला हुलाक सेवा बन्द गराउनेतर्फ हाम्रो आन्दोलन केन्द्रित हुनेछ । त्यसकारण अतिरिक्त हुलाक खारेजी नगर्न जोडदार माग गर्दछौँ ।’ उनले भने ।
मकवानपुरमा अतिरिक्त हुलाकमा ११४ जना कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*