विषालु च्याउ पकाएर खादा बाबुछोरा गम्भीर बिरामी

हेटौंडा टुडे
२०८२ जेष्ठ १८, आईतवार १२:१८ गते

हेटौंडा । मकवानपुरगढी गाउँपालिका–८ ओकरेमा विषालु च्याउ सेवनका कारण बाबुछोरा गम्भीर बिरामी परेका छन्। आफ्नै बारीमा उम्रिएको जंगली च्याउ खाँदा ६१ वर्षीय वीरबहादुर तितुङ र उनका ८ वर्षीय छोरा वसन्त तितुङ बिरामी परेका हुन्।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार, शनिबार बिहान च्याउ पकाएर खाएपछि दुबै जनालाई उल्टी आउने, टाउको दुख्ने र बेहोस हुने लक्षण देखिएको थियो। तत्कालै उनीहरूलाई हेटौंडा स्थित सन्चो अस्पताल पुर्‍याइएको र हाल उपचार भइरहेको जनाइएको छ।

च्याउ नेपाली ग्रामीण भेगमा लोकप्रिय परिकार भए पनि यथोचित पहिचान नगरी खाइने च्याउले ज्यानै जोखिममा पार्न सक्छ। प्रायः वर्षा याममा उम्रिने जंगली च्याउमध्ये केही अत्यन्त विषालु हुने विज्ञहरू बताउँछन्। यस्ता च्याउ देखिने स्वरूपले मात्र पहिचान गर्न सकिने अवस्था नभएकाले जोखिम झनै बढ्दो छ।

हाल बाबुछोरा दुबैको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। यद्यपि, यस्ता घटनाको पुनरावृत्ति रोक्न स्वास्थ्य संस्थाहरू र पालिकाले मिलेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*