भोटेकोसीमा आएको बाढीका कारण २४० मेगावाट बिजुली बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनीको गरी २३० मेगावाट र निजी क्षेत्रको १० मेगावाट गरी २४० मेगावाट आयोजना बाढीका कारण बन्द भएको हो । बाढीले रसुवागढी जलविद्युत् आयोजना चिलिमे जलविद्युत् आयोजना, त्रिशूली थ्री ए जलविद्युत् आयोजना, त्रिशूली थ्री बी सबस्टेसन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा क्षति पुगेको छ ।
यस्तै, निजी क्षेत्रको मैलुङ खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यी सबै आयोजना गरी २४० मेगावाट बिजुली प्रणालीबाट बाहिर रहेको छ। सबैभन्दा क्षति १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा परेको छ । रसुवागढी आयोजनाको बाँध र गेट स्ट्रक्चर बगाएको छ । उक्त आयोजनामा सबैभन्दा बढी क्षति भएको हो। यस्तै, ६० मेगावाटको ‘त्रिशूली थ्री ए’ जलविद्युत् आयोजनामा पनि धेरै क्षति भएको छ ।
दुई आयोजनाको गरी १७१ मेगावाटका आयोजनामा ठूलो क्षति पुगेको हो। त्रिशुली थ्री ए को ड्यामको एउटा गेट बगाएको र सिभिल स्ट्रक्चरमा धेरै क्षति नभएको जनाएको छ। १७१ मेगावाटका दुई आयोजनाका उत्पादन कहिले आउँछ भन्ने तत्काल भन्न नसकिने र यी सबै आयोजनाको हेडवर्क्समा मात्रै क्षति पुगेको हो।






















