हेटौंडा। तिहारको अबसरमा असोज ३१ गतेलाई प्रदर्शन मिति तय गरेको फिल्म ‘जेरी अन टप’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण कम्पनि अनन्या फिल्मस् प्रालीले फिल्मको प्रचार थालनी गर्दै बिहीबार एकसाथ ३ पोस्टर सार्वजनिक गरेको हो। फिल्ममा अनमोल केसी, आँचल शर्मा र जसिता गुरूङको मुख्य भुमिका रहेको छ।
पोस्टरमा समावेश पृष्ठभूमिले फिल्मको कथा खोलेको छ, जहाँ अनमोल र जसिता हिमाल आरोहीको अबतारमा प्रस्तुत छन्। अर्को पोस्टरमा अनमोल दुबै अभिनेत्रीसँग रोमान्टिक अबतारमा छन्। पोस्टरले ‘जेरी अन टप’मा त्रिकोणात्मक प्रेम रहेको संकेत गर्छ।
सुयोग गुरुङको निर्देशनमा तयार यो फिल्ममा अनमोल, आँचल र जसितासँगै चर्चीत हाँस्य अभिनेता केदार घिमिरे, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि प्रमुख अभिनयमा छन्। अनमोल पिता अभिनेता भुवन केसीले ‘जेरी अन टप’मा पनि अनमोलको बुवाकै भूमिका निभाएका छन्।
निर्माता सरोज न्यौपानेले सम्पूर्ण टिमको अथाह मेहनतले राम्रो परिणाम निस्किएको बताएका छन्। सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका स्थानमा यो फिल्मलाई छायांकन गरिएको छ। फिल्मका केही दृश्य काठमाडौंमा झण्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको जनाइएको छ।
सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेको यो फिल्मको कथा हेमराज बिसीको हो। कार्यकारी निर्मातामा अनिरूद्र गिरी र ईश्वर श्रेष्ठ छन्।
एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्। विश्वास तिम्सिनाको पटकथा रहेको यो फिल्म दुलिप रेग्मीले छायांकन गरेका हुन्।


















