हेटौंडा । प्रदर्शनकारी माथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोकको अवस्था झनै तनावपूर्ण बनेको छ।
सोमबार दिउँसो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि आन्दोलनकारीहरू थप उग्र बन्न थालेका हुन्। अहिले प्रदर्शनकारीले विभिन्न ठाउँमा आगजनी समेत गरिरहेका छन्। उनीहरूले संसद भवनको गेट अगाडि आगजनी गरेका छन्। त्यस्तै, उनीहरूले एम्बुलेन्समा समेत तोडफोड गरेका छन्।
सरकारले घोषणा गरेको कर्फ्यू प्रभावहीन देखिएको छ,किनभने प्रदर्शनकारीहरू अझ आक्रोशित रूपमा सडकमा उत्रिरहेका छन्। कर्फ्यू लागू हुनु अघिको अवस्थाको तुलना गर्दा अहिले प्रदर्शन झनै उग्र बनेको हो। संसद् परिसरभित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इँटा प्रहार गरिरहेको छ।प्रदर्शनकारीहरूले बानेश्वर चोकको कुनामा रहेको संसद् भवन परिसरमा पटक–पटक आगजनीको प्रयास गरेका छन्। भीड र भागदौडका क्रममा केही मानिसहरू घाइते भएका छन्। संसद भवनका ठाउँठाउँका पर्खाल समेत भत्काइएका छन्।






















