हेटौंडा । अर्थ मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत गर्ने प्रक्रियाको सुरुवात हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत सुरुवात गर्ने बताएका हुन् ।
अर्थमन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्रालयको सम्पूर्ण कार्य अब कागजी प्रक्रियामुक्त भई डिजिटल प्रणालीमा आधारित हुने बताएका छन् । उनका अनुसार आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति आदिका सबै काम अनलाइन प्लेटफर्ममार्फत मात्र सम्पन्न हुनेछन् ।
यस प्रणालीले समय, लागत र श्रम बचत गर्नुका साथै निर्णय प्रक्रियामा पारदर्शिता र कार्यगत दक्षता अभिवृद्धि गर्ने मन्त्रालयको अपेक्षा छ । मन्त्रालयले जनाएको अनुसार, डिजिटल स्वीकृति प्रणाली कार्यान्वयनसँगै कर्मचारीले हातैले गर्ने कागजी प्रक्रिया अन्त्य हुनेछ र सम्पूर्ण अभिलेख सुरक्षित रूपमा डिजिटल आर्काइभमा संग्रहित गरिनेछ ।
अहिलेसम्म सरकारी कार्यालयका टिप्पणीहरू कागजमा मात्रै स्वीकृत गर्ने परम्परा रहेको छ । पछिल्लो जेन-जी आन्दोलनको क्रममा अधिकांश सरकारी कागजात तथा दस्तावेजहरू जलेका छन् । अर्थ मन्त्रालयले गरेको डिजिटल टिप्पणीको सुरुवातले डाटा सेन्टरमा दस्ताबेज सुरक्षित हुन सक्ने देखिन्छ ।


















