जेनजी आन्दोलन : ७६ जनाको मृत्यु, तोडफोड, आगजनी र लुटपाट गर्ने ३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता

हेटौंडा टुडे
२०८२ कार्तिक २०, बिहीबार ११:५७ गते

हेटौंडा । जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ३७५ जनालाई पक्राउ गरेको छ । कात्तिक १७ गतेसम्मको विवरण अनुसार देशभरबाट ३७५ जनालाई पक्राउ गरिएको र १४१ वटा मुद्धा दर्ता गरेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा बढी पक्राउ काठमाडौं उपत्यकाबाट भएका हुन्। उपत्यकाबाट मात्रै २१८ जना पक्राउ परेका छन्, जसविरुद्ध कर्तव्य ज्यान, आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएका छन्। उपत्यकामा मात्र ९६ वटा मुद्दा दर्ता भएका छन्।

यस्तै, कोशी प्रदेशमा ३० जनालाई पक्राउ गरी ४ मुद्दा दर्ता गरिएको छ भने मधेश प्रदेशमा २१ जना पक्राउ र ६ मुद्दा दर्ता भएका छन्। बागमती प्रदेशमा ३३ जना पक्राउ र ११ मुद्दा, गण्डकीमा ३२ जना पक्राउ र ७ मुद्दा, लुम्बिनीमा २९ जना पक्राउ र ११ मुद्दा, कर्णालीमा ४ जना पक्राउ र ३ मुद्दा तथा सुदूरपश्चिम प्रदेशमा ८ जना पक्राउ र ३ मुद्दा दर्ता गरिएको मन्त्रालयले जनाएको छ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटजस्ता घटनाहरूका ३६ हजारभन्दा बढी भिडियो र तस्बिर प्रमाणका रूपमा संकलन गरिएको छ। ती प्रमाणको आधारमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको क्षतिको विवरणसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गरेको छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो। त्यस क्रममा सिंहदरबारलगायतका महत्त्वपूर्ण सरकारी संरचनामा आगजनी र तोडफोड भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*