बीपी राजमार्ग धमाधम पुनर्निर्माण हुदैँ

हेटौंडा टुडे
२०८२ मंसिर १९, शुक्रबार १४:२१ गते

हेटौंडा ।  गत वर्षको असोज र यस वर्षको बाढी पहिरोले क्षति पुर्‍याएको बिपी राजमार्ग धमाधम पुनर्निर्माण भइरहेको छ । अविरल वर्षाका कारण रोशी नदीमा आएको बाढीले राजमार्गको काभ्रेपलान्चोक—सिन्धुली खण्डको करिब २८ किलोमिटर खण्ड क्षतिग्रस्त भएको थियो ।

क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ । त्यसमध्ये ४ खण्डका पर्ने २५ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम भइरहेको छ । पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

बाँकी एक खण्डमा पर्ने ३ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहाययतामा पुनर्निर्माण हुनेछ । यसका लागि डिजाइन स्वीकृत भई ठेक्का प्रक्रियामा रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार त्यस क्षेत्रको स्थलगत अनुगमन गरी सडक पुनर्निर्माणका विषयमा जानकारी लिएका छन् ।

मन्त्री घिसिङ सडक विभागका महानिर्देशक विजय जैसी, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपाने लगायत टोलीसहित अनुगमनमा पुगेका थिए ।

त्यसक्रममा घिसिङले सडकका विभिन्न खण्डमा भइरहेको पुनर्निर्माण, निर्माण सम्पन्न हुने तालिका, यातायात सञ्चालनका लागि हाल अस्थायी रूपमा गरिएको डाइसर्भनको व्यवस्था, जाइकाले निर्माण गर्ने खण्डको तयारी अवस्था लगायत विषयमा छलफल गरे ।

हाल अस्थायी रूपमा सवारीसाधनका लागि खोला किनारबाट डाइभर्सन निर्माण गरिएको र उक्त डाइभर्सनले वर्षायाम सुरु भएसँगै काम नगर्ने उल्लेख गर्दै मन्त्री घिसिङले यसतर्फ विशेष ध्यान दिई वर्षायाम सुरु हुनुभन्दा अगाडि नै आवश्यक संरचना निर्माण सम्पन्न गर्न आग्रह गरे । उनले जनशक्ति थप र विद्युत् व्यवस्था गरी राति पनि काम गर्ने व्यवस्था गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिए ।

संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्ने महत्त्वपूर्ण बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १ सय ६० किलोमिटर लम्बाइ रहेको बीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भइरहेको इन्टरमिडिएट लेनलाई  क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुई लेनको बनाई पुनर्निर्माण गरिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*