हेटौंडा । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न वितरण गरेको छ । आइतबार आयोगले चुनावमा भाग लिन दर्ता भएका ११४ दललाई एकल र संयुक्त चुनाव चिह्न प्रदान गरेको हो । आयोगमा हाल १४३ दलको दर्ता कायम रहेपनि निर्वाचनमा ११४ दलले भाग लिने जनाएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दल एकल र १२ वटा दल संयुक्त निर्वाचन चिह्नमा चुनाव लड्ने छन् । निर्वाचनका लागि १२० निवेदन परेकोमा १३ वटा खारेज भएको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचन कार्यक्रम आज बिहान १० बजेदेखि मङ्सिर २३ गतेसम्म दिउसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले दल दर्ताको आवेदन दिने समय तोकिएको छ । त्यस्तै समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची मङ्सिर २४ गते प्रकाशित हुने आयोगले जनाएको छ ।
समानुपातिकका लागि आवेदन दिएका राजनीतिक दलले आगामी पुस १३ र १४ गते बिहान १० देखि दिउसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ । यस्तै, आगामी माघ २० गते भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । यस्तै, हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।
त्यसैगरी कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।
आयोगका अनुसार, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकारभित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको, चापाकल पनि निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।
बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछ ।
दुई वटा पैतला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोत्तल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कलो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औँला उठाएको लाइक, कोदालो, मकैका बाला, दुई औँला खुलेको औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन् ।


















